वीरगञ्ज, — उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्साको ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई मासिक रूपमा प्रदान गर्दै आएको खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ।
संस्थाले आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्ति, वृद्ध–वृद्धा तथा बालबालिकाको उपभोगका लागि दुई बोरा (३०–३० किलो) चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, ४ लिटर खानेतेल, ६ किलो नुन, एक पेटी लुगा धुने साबुन, ५ किलो भुजा लगायतका दैनिक आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।
आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्य युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
संस्थाका अनुसार उपकार सेवा नेपालले विगतदेखि नै उक्त आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा अन्य जिन्सी सामग्री उपलब्ध गराउँदै आएको छ। संस्थाले आगामी दिनमा पनि मानव सेवालाई निरन्तरता दिँदै यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


