पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२४, बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्।
बुधबार राति करिब ८स्०० बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आउँदै गरेको RJ 14 GE 8710 नम्बरको ग्याँस ट्याङ्करले पछाडिबाट ठक्कर दिएर फरार भएको थियो।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको उद्धार गरी वीरगञ्जस्थित नारायणी र वीरगञ्ज न्युरो अस्पताल मा उपचार भइरहेको छ।
दुर्घटनापछि फरार भएका ग्याँस ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाको साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर राय हुन्। स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


