वीरगञ्ज — भेट्रान सिटी क्लब वीरगञ्जले आफ्नो नवौं साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत आमाको माया छात्रावासका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।
जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित वीरगञ्जस्थित आमाको माया छात्रावासमा आयोजित कार्यक्रममा क्लबले ३० थान विद्यालय ब्याग, ३० सेट फुटबल विश्वकपमा सहभागी विभिन्न देशका जर्सी, चारवटा फुटबल तथा रियल, सीएफएल बल्ब र मल्टिप्लगलगायत विद्युतीय सामग्री हस्तान्तरण गरेको थियो। क्लबले छात्रावासका बालबालिकालाई भोजनसमेत गराएको थियो।
क्लबका उपाध्यक्ष सागर शमशेर जबराको अध्यक्षता तथा पर्सा फुटबल क्लबका पूर्वअध्यक्ष मनोज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जबराले खेलकुदसँगै सामाजिक सेवामा पनि क्लब सक्रिय रहेको बताए। उनले साधारणसभाको अवसरमा ूभविष्यका कर्णधारसँग एक पलू कार्यक्रममार्फत बालबालिकासँग समय बिताउन र सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयका प्रमुख निशान्त लामिछाने, पूर्वराष्ट्रिय खेलाडी शिवशंकर श्रीवास्तव, कोषाध्यक्ष सुबोध श्रीवास्तव, आनन्द चौधरी, दीपेश क्षेत्री, छात्रावासका पदाधिकारी तथा विद्यार्थीको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन क्लबका सदस्य सन्तोष खनालले गरेका थिए।



