वीरगञ्ज — शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले शनिबार वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित माइधिया पोखरी छेउको गणिनाथ गोविन्द बाबा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वरिष्ठ समाजसेवी एवं अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न जातका बिरुवा रोपिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण वातावरणमा परेको असर न्यूनीकरण गर्न वृक्षारोपण अपरिहार्य भएको बताए। उनले रुख रोपेर मात्र नभई त्यसको संरक्षण गर्न पनि सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए। ूहामी सबै मिलेर रुख–बिरुवा रोपौं, त्यसको संरक्षण गरौं र आगामी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गरौं,ू उनले भने।
प्रतिष्ठानकी अध्यक्ष खनालले प्रकृति मानव जीवनको आधार भएकाले वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन्। उनले ूरुख रोपौं, वातावरण जोगाऔं र भावी पुस्ताको भविष्य स्वस्थ बनाऔंू भन्ने सन्देशसहित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले वृक्षारोपणले वातावरण संरक्षणसँगै मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताए। उनले यस्ता कार्यक्रम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जसपाल सिंहले प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण बाढी, पहिरो, सुख्खा, डढेलो, हावाहुरी तथा विभिन्न विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै वातावरण संरक्षणका लागि सरसफाइ, वृक्षारोपण र बिरुवाको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिर, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्राध्यापक डा। हरेराम ठाकुर, धार्मिक अगुवा सन्तोष पटेल, आर्य समाज पर्साका अध्यक्ष रितेश गुप्ता, रेल्वे मावि श्रीपुरका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, प्रकृति सेवा प्रतिष्ठान नेपालका सदस्यहरू, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक श्रवणबहादुर रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरेका थिए।



