पर्सा । नारायणी अस्पतालको आपत्कालीन भवन निर्माण ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट भएको फैसलाप्रति असहमति जनाउँदै आयोगले असार १५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।
आयोगले नारायणी अस्पताल पर्साका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट संजयकुमार ठाकुरसहितका प्रतिवादीविरुद्ध सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत आपत्कालीन भवन निर्माणको ठेक्का प्रक्रिया सञ्चालन गरी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार १ करोड ८४ लाख ३८ हजार ४ सय ५८ रुपैयाँ ७० पैसा बिगो कायम गर्दै सोही बराबरको जरिवाना, कैद, बिगो असुलउपर तथा ठाकुरलाई दफा २४ बमोजिम थप सजायको मागसहित आरोपपत्र दायर गरिएको थियो।
विशेष अदालतले भने २०८२ पुस १४ गतेको फैसलाबाट सबै प्रतिवादीलाई सफाइ दिएको थियो। सोही फैसलाविरुद्ध आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएको छ।


