वीरगञ्ज — पर्साको प्रहरी चौकी बढनियारको हिरासतबाट हत्कडीसहित फरार भएका एक थुनुवा भोलिपल्ट आफैं हाजिर भएका छन्।
पर्सागढी नगरपालिका–४ पर्शुरामपुरका २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान आइतबार राति हिरासतबाट फरार भएका थिए। उनी सोमबार बिहान आफैं डिभिजन वन कार्यालयमा उपस्थित भएको कार्यालय प्रमुख मन्जुर देवानले पुष्टि गरे।
प्रहरीका अनुसार काठ तस्करीसम्बन्धी मुद्दामा पक्राउ परेका देवान आइतबार साँझ खाना खाने समयमा हत्कडीसहित हिरासतबाट भागेका थिए। फरार भएपछि उनी राति आफ्नै घरमा बसेको र सोमबार बिहान आफैं हाजिर भएको स्रोतले जनाएको छ।
थुनुवा फरार भएलगत्तै प्रहरीले खोजी अभियान तीव्र बनाएको थियो। प्रहरी स्रोतका अनुसार त्यसपछि परिवारका सदस्यले उनलाई हाजिर गराएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १४ गते पक्राउ परेका देवानविरुद्ध सवडिभिजन वन कार्यालय सबैयामा काठ तस्करीसम्बन्धी तीन वटा मुद्दा दर्ता रहेकाले उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


