वीरगन्ज –
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बिरगञ्जका एमबीबीएस चौथो वर्ष (२१औँ ब्याच) का विद्यार्थी सन्नी वैश्यले विश्वभर चिकित्सा शिक्षामा व्यापक रूपमा अध्ययन गरिने ईएनटी विषयको चर्चित पाठ्यपुस्तक Disease of Ear, Nose and Throat & Head and Neck Surgery मा रहेको विषयगत स्पष्टताको आवश्यकता औंल्याउँदै अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।
पुस्तकको Stridor अध्याय अध्ययन गर्ने क्रममा उनले Retropharyngeal Abscess लाई Pharynx अन्तर्गत स्ट्राइडरको कारणका रूपमा उल्लेख गरिएको विषयमा वैज्ञानिक तथा एनाटोमिक दृष्टिकोणबाट थप स्पष्टता आवश्यक रहेको सुझाव दिएका थिए। उनका अनुसार Retropharyngeal Abscess वास्तवमा retropharyngeal space मा अवस्थित हुने भएकाले यो फ्यारिन्क्सभित्रको (intrinsic) रोग नभई बाह्य (extrinsic) दबाबका कारण श्वासमार्ग साँघुरो बनाउँदै stridor उत्पन्न गराउने अवस्था हो।
विद्यार्थी वैश्यले आफ्नो वैज्ञानिक तर्कसहितको सुझाव पुस्तकका प्रख्यात लेखक डा. पी. एल. ढिङ्ग्रासमक्ष औपचारिक रूपमा पठाएका थिए। त्यसको जवाफमा डा. ढिङ्ग्राले Retropharyngeal Abscess प्राविधिक रूपमा ल्यारिन्क्सभन्दा बाहिर रहने कुरा स्वीकार गर्दै, फ्यारिन्क्समा हुने सुन्निने (oedema) तथा बाह्य दबाबका कारण stridor उत्पन्न हुने भएकाले उक्त अवस्थालाई सम्बन्धित अध्यायमा समावेश गरिएको स्पष्ट पारेका छन्। साथै, एनाटोमिक दृष्टिले अझ स्पष्ट हुने गरी आगामी संस्करण वा पुनर्मुद्रणमा आवश्यक सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीको वैज्ञानिक सुझावप्रति धन्यवाद ज्ञापन गरेका छन्।
विश्वप्रसिद्ध चिकित्सा पाठ्यपुस्तकका लेखकबाट सुझावको औपचारिक स्वीकारोक्ति तथा आगामी संस्करणमा सुधार गर्ने प्रतिबद्धता प्राप्त हुनु नेशनल मेडिकल कलेजका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता, अनुसन्धानमुखी सोच, आलोचनात्मक विश्लेषण क्षमता तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने योग्यताको महत्वपूर्ण उदाहरण बनेको छ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बिरगञ्जले विद्यार्थीहरूमा अनुसन्धानमूलक अध्ययन, वैज्ञानिक प्रमाणमा आधारित शिक्षा तथा आलोचनात्मक सोचको विकासलाई निरन्तर प्रोत्साहन गर्दै गुणस्तरीय चिकित्सा शिक्षामा आफ्नो प्रतिबद्धता सुदृढ बनाइरहेको छ।
“ज्ञान, अनुसन्धान र उत्कृष्टताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन” भन्ने लक्ष्यका साथ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल निरन्तर अग्रसर रहेको छ।



