वीरगन्ज — बाल अधिकार संरक्षण तथा संवद्र्धनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार वीरगन्जमा सम्पन्न भएको छ। युवालयको आयोजनामा भएको कार्यक्रममा बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले थप संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइयो।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले बालबालिकाको अधिकार, गोपनीयता र सम्मानलाई केन्द्रमा राखेर पत्रकारिता गर्न आवश्यक रहेको बताए। विद्यालय तथा शैक्षिक संस्थासँग सम्बन्धित समाचार संकलन र प्रकाशन गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ थियो।
पछिल्लो समय केही सञ्चारमाध्यमले बालबालिकाको पहिचान खुल्ने गरी समाचार तथा दृश्य सामग्री सार्वजनिक गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिले बालअधिकार उल्लंघनको जोखिम बढाउने बताए। सञ्चारकर्मीहरू जिम्मेवार र बालमैत्री पत्रकारिताको अभ्यासमा सचेत हुनुपर्नेमा उनले जोड दिए।लामिछानेले वीरगन्ज महानगरपालिकाले निकट भविष्यमै ‘साक्षर महानगर’ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए। उनका अनुसार महानगरका ३२ वडामध्ये २७ वडा साक्षर घोषणा भइसकेका छन् भने बाँकी वडामा पनि प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
कार्यक्रममा प्रशिक्षक रामप्रवेश साहले मधेश प्रदेशको शैक्षिक अवस्था, बालअधिकारको कार्यान्वयन तथा बालमैत्री वातावरण निर्माणका विषयमा प्रस्तुति दिएका थिए। बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यम, स्थानीय तह, विद्यालय तथा अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
छलफलमा सहभागी पत्रकारहरूले बालअधिकार संरक्षणमा सञ्चारमाध्यमको जिम्मेवारी, चुनौती र अवसरबारे धारणा राखेका थिए। सहभागीहरूले तथ्यमा आधारित, उत्तरदायी र बालमैत्री पत्रकारितामार्फत बालअधिकार प्रवद्र्धनमा योगदान पु¥याउने प्रतिबद्धता जनाए।वीरगन्जस्थित होटल वृन्दावनमा आयोजित कार्यक्रममा युवालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन युवालयका पर्सा प्रतिनिधि राहुल साहले गरेका थिए।



