वीरगञ्ज — नेशनल एकेडेमीले कक्षा १२ र स्नातक तहका विद्यार्थीलाई शनिबार विशेष समारोहबीच बिदाइ गरेको छ। गण्डकस्थित क्लार्क रिसोर्टमा आयोजित कार्यक्रममा वक्ताहरूले विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर निस्केर सामाजिक उत्तरदायित्व र व्यवहारिक ज्ञानमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब अफ वीरगञ्ज ३२५ एसका पूर्व डिस्ट्रिक्ट गभर्नर देवकीनन्दन ९डीएन० अग्रवालले शैक्षिक प्रमाणपत्र मात्र व्यक्तित्व विकासको आधार नहुने बताए। “विद्यार्थीले समाजसेवा, नेतृत्व र व्यवहारिक काममा सहभागिता जनाए मात्रै समाज र देश निर्माणमा योगदान दिन सक्छन्,” उनले भने।
कलेजका प्राध्यापक इन्दुशेखर मिश्रले विद्यार्थीको मूल्यांकन अंकका आधारमा मात्रै नहुने उल्लेख गर्दै अनुशासन, लगनशीलता र जिम्मेवारीबोध पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
कलेज अध्यक्ष छोटेलाल प्रसादले आफू शिक्षालाई व्यापारभन्दा सेवाको माध्यमका रूपमा अघि बढाइरहेको बताए। “मुनाफा कमाउने उद्देश्यले शिक्षाक्षेत्रमा आएको होइन, गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन मेरो प्राथमिकता हो,” उनले भने। उनले शिक्षकको दक्षता अभिवृद्धि र शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कलेज सञ्चालक समितिका सदस्य बलराम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कलेज प्रमुख केदार साह, पत्रकार नीरज पिठाकोटे मगर, शिक्षक राहुल केवट, श्याम साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिमार्फत सम्झनायोग्य बिदाइ मनाएका थिए।



