वीरगन्ज — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि विद्यार्थीहरूमा मानसिक तनाव र निराशा बढ्न सक्ने भन्दै अभिभावक तथा विद्यालयलाई विशेष सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् ।

सोमबार सार्वजनिक भएको एसईई नतिजापछि वीरगन्जमा एक किशोरले आत्महत्या गरेको घटनाले फेरि परीक्षा परिणामसँग जोडिएको मानसिक दबाबको विषयलाई सतहमा ल्याएको छ।
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।
पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका ) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए। उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए। राति करिब ११स्३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए।
‘हामीले सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,’ परिवारका एक सदस्यले भने, ‘कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो, ढोका खोलेर हेर्दा उसले तन्नाको पासो लगाएर प्राण त्यागिसकेका थिए।’
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन्।
शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबाब नदिन र यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन्।
शिक्षाविद् तथा मनोपरामर्शदाताहरूका अनुसार एसईईलाई जीवनको अन्तिम निर्णयका रूपमा लिनु गलत धारणा हो। विद्यार्थीहरूलाई असफलता वा अपेक्षाभन्दा कम नतिजा आउँदा भावनात्मक साथ र सकारात्मक परामर्श आवश्यक पर्ने उनीहरूको भनाइ छ।
अभिभावकहरूले नतिजापछि बालबालिकासँग खुला रूपमा संवाद गर्न, तुलना नगर्न र उनीहरूको आत्मविश्वास बढाउने वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिइएको छ। विद्यालयहरूले पनि नतिजापछि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
विशेषज्ञहरूका अनुसार किशोरावस्थामा भावनात्मक उतारचढाव बढी हुने भएकाले सानो असफलताले पनि गम्भीर मानसिक असर पार्न सक्छ। त्यसैले परिवार, विद्यालय र समाज सबैले विद्यार्थीको मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ।



