काठमाडौँ — वैदेशिक रोजगार विभाग, ताहाचलका नायब सुब्बा ९नासु० हेमबहादुर मस्राङगी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी दुःख दिएको भन्ने उजुरीपछि आयोगले निगरानी बढाएको थियो।
सोही क्रममा खटिएको टोलीले मस्राङगीलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
नियन्त्रणपछि कार्यालय परिसरमै गरिएको खानतलासीका क्रममा स्रोत नखुलेको थप नगदसमेत फेला परेको आयोगले जनाएको छ। आयोगका अनुसार १५ हजार रुपैयाँ घुस रकमसहित स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको छ।
यससँगै मस्राङगीबाट तीन थान मोबाइलसमेत बरामद गरिएको छ। बरामद नगद र मोबाइलसहित उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



