वीरगञ्ज, । नेपाली नववर्ष २०८३ को पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकले घण्टाघर क्षेत्रमा निस्शुल्क कपडा वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गरीब तथा असहायलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको कपडा बैंकले ‘सोल सिस्टर वीरगञ्ज’ को सहयोगमा शुक्रबार करिब १ हजार ५० थान नयाँ तथा प्रयोगयोग्य कपडा वितरण गरेको बैंकका उपाध्यक्ष प्रकाश थारुले बताए ।
कार्यक्रमका क्रममा गणेशटोलस्थित सामाजिक संस्था सोल सिस्टर वीरगञ्जले अध्यक्ष रिन्कु कायस्थको नेतृत्वमा नयाँ तथा पुराना कपडाका साथै ४ हजार १ सय रुपैयाँ नगद सहयोग प्रदान गरेको थियो। उक्त सहयोग निवर्तमान अध्यक्ष रम्भा मिश्रालाई हस्तान्तरण गरृका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र कुर्मीले कपडा बैंकले “कोही नाङ्गो नरहोस्” भन्ने उद्देश्यका साथ निरन्तर सेवा गर्दै आएको प्रशंसा गरे। उनले मानव सेवामा सबैले आफ्नो आम्दानीको केही अंश योगदान गर्नुपर्ने उल्लेख गर्दै मानव सेवा नै सर्वोत्तम धर्म भएको बताए। साथै नववर्षले आपसी एकता, भाइचारा र सामाजिक सद्भाव अझ सुदृढ बनाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
विशिष्ट अतिथि अधिवक्ता पन्नालाल गुप्ताले नयाँ लुगा किन्न नसक्ने वर्गका लागि यस्ता अभियान अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता सामाजिक कार्यमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
सोल सिस्टर वीरगञ्जकी अध्यक्ष रिन्कु कायस्थले कपडा बैंकको मानवीय कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक सुरेन्द्र कुर्मी, सल्लाहकार पन्नालाल गुप्ता र वरुण चौरसिया, सोल सिस्टरका पदाधिकारीहरू, विभिन्न सामाजिक अभियन्ता, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष सिंहले विगत ७ वर्षदेखि नियमित रूपमा कपडा वितरण गर्दै आएको जानकारी दिँदै विपद् तथा चाडपर्वका समयमा समेत सेवा विस्तार गरिएको बताए। उनले सहयोग गर्ने सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक र सहकार्य गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै नववर्ष २०८३ ले देश–विदेशमा शान्ति, समृद्धि र आपसी एकता कायम गराओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।



