पोखरा — जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना सञ्चालकलाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइडका ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर तथा पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले मापदण्डविपरीत स्पा सेन्टर सञ्चालन गरेको, बालिकाहरूलाई कामदारका रूपमा प्रयोग गरेको तथा स्पा सेन्टरभित्र अवाञ्छित क्रियाकलाप सञ्चालन/गराएको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार तथा आफन्तको जिम्मा लगाइएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



