Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

चन्द्रमा देखेसँगै सुरु भयो रमजान एक महिना संयम, उपवास, अनुशासन र दान–पुण्यको पर्व

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — मुस्लिम समुदायको पवित्र पर्व रमजान देशभरि आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आइतबार साँझ चान्द (चन्द्रमा) देखिएसँगै रमजान सुरु भएको पुष्टि भएपछि मुस्लिम धर्मावलम्बीहरूले आजदेखि एक महिना लामो रोजा (व्रत) बस्न थालेका हुन्।

चन्द्रमा देखेर सुरु हुने रमजान पर्व महिनाको अन्त्यमा पुनः चन्द्रमा देखिएपछि नै समापन हुन्छ। बुधबार रातिदेखि सूर्योदय हुनुअघि सेहरी (रातिको खाना) खाएर मुस्लिम धर्मावलम्बीहरूले रोजाको सुरुवात गरेका छन्।

देशभरिका मुस्लिम समुदायले रमजानको अवसरमा एक महिना उपवास बस्ने परम्परा रहेको छ। रोजाको समयमा सूर्योदयदेखि सूर्यास्तसम्म केही पनि नखाई–नपिई संयमपूर्वक व्रत बस्ने गरिन्छ।
रमजान : इस्लाम धर्मको सबैभन्दा पवित्र महिना रमजान इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व मानिन्छ। यस महिनामा नावालकबाहेक सबै स्वस्थ महिला तथा पुरुषले अनिवार्य रूपमा रोजा बस्नुपर्ने धार्मिक मान्यता छ। त्यसैले रमजानलाई धार्मिक उत्सवका रूपमा पनि मनाइन्छ।
के हो रमजान ?
रमजान (रमदान) इस्लामिक पात्रोको नवौँ महिना हो। इस्लामिक पात्रो चन्द्रमामा आधारित भएकाले यसको पहिलो महिना मुहर्रमबाट सुरु हुन्छ। त्यसपछि क्रमशः सफर, रबी अल–अव्वल, रबी अल–थानी, जुमाद अल–उला, जुमाद अल–थानी, रज्जब, शआबान र नवौँ महिनामा रमजान पर्दछ।

धार्मिक मान्यताअनुसार यही महिनामा मुस्लिम समुदायको पवित्र ग्रन्थ कुरान अवतरण भएको हो। कुरानमै रोजा अनिवार्य गरिएको उल्लेख भएकाले मुस्लिम समुदायले रमजानभर रोजा बस्ने गर्दछन्।

तरावीह नमाज र कुरान वाचन

रमजान महिनामा कुरान वाचन गर्नु विशेष पुण्य मानिन्छ। यही कारण पाँच पटकको नियमित नमाजका अतिरिक्त रमजानमा ‘तरावीह’ नामक विशेष नमाज पढिने गरिन्छ। यस नमाजमा कुरान वाचन गरिन्छ, जसबाट कुरान पढ्न नआउनेहरूले पनि सुनेर पुण्य प्राप्त गर्ने धार्मिक विश्वास छ।

किन एक महिना रोजा ?

धार्मिक ग्रन्थअनुसार अल्लाहले एक महिना रोजा बस्न आदेश दिएको बताइन्छ। कुरानको सुरा–ए–बकराहको आयत नम्बर १८५ मा रमजानमा रोजा बस्नुपर्ने उल्लेख गरिएको छ। यही आदेशका कारण रमजानभर एक महिना रोजा बस्ने परम्परा कायम रहेको धार्मिक अगुवाहरू बताउँछन्।

रोजाको अर्थ र उद्देश्य

रोजा फारसी शब्द हो, जसको अर्थ उपवास हो। अरबी भाषामा उपवासलाई ‘सियाम’ भनिन्छ। रमजान महिना कहिले २९ त कहिले ३० दिनको हुन्छ।

रोजा बस्नु इस्लाम धर्मको पाँच स्तम्भमध्ये एक हो। इस्लामका पाँच स्तम्भमा कल्मा, नमाज, रोजा, जकात र हज पर्दछन्। रोजा अनिवार्य धार्मिक कर्तव्य मानिन्छ।

धार्मिक विश्वासअनुसार रोजा बस्दा आत्मशुद्धि हुन्छ र मृत्युपछि जन्नत (स्वर्ग) प्राप्त हुने मान्यता छ। साथै, शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले पनि रोजालाई लाभदायक मानिन्छ।

कुलत त्याग र अनुशासनको अभ्यास

रोजाको समयमा जाँड–रक्सी, चुरोट, सुर्ती, चोरी, झुट र अश्लिल व्यवहार वर्जित गरिएको छ। मौलानाहरूका अनुसार एक महिना संयममा बसेपछि मानिसमा खराब बानी त्याग्ने र अनुशासित जीवन बाँच्ने बानी विकास हुन्छ।

“रमजान मानव बन्ने प्रशिक्षण हो,” धार्मिक अगुवाहरू भन्छन्, “यसले गलत बाटोबाट बचाएर सही मार्गमा हिँड्न प्रेरित गर्छ।”

चन्द्रमा किन हेरिन्छ ?

इस्लामिक पात्रो चन्द्रमामा आधारित भएकाले महिना सुरु र अन्त्य चन्द्रमा देखेर निर्धारण गरिन्छ। रमजान सुरु र समाप्त दुवै चन्द्रमाकै आधारमा हुने भएकाले चान्द हेर्ने परम्परा रहेको धर्मविद्हरू बताउँछन्।
कसलाई रोजा अनिवार्य ?
धार्मिक नियमअनुसार बालिग (स्वप्नदोष वा रजस्वला भइसकेका) मुस्लिम महिला–पुरुषलाई रोजा अनिवार्य गरिएको छ। नावालक, गम्भीर बिरामी, गर्भवती, रजस्वला भएका महिला तथा यात्रामा रहेका व्यक्तिलाई अस्थायी छुट दिइएको छ। छुट पाएका व्यक्तिले पछि उपयुक्त समयमा छुटेका रोजाको सट्टा रोजा बस्नुपर्ने व्यवस्था छ।
सेहरी र इफ्तार

सूर्योदयअघि खाने खानालाई सेहरी भनिन्छ भने सूर्यास्तपछि रोजा तोडेर खाने खानालाई इफ्तार भनिन्छ। सेहरी र इफ्तार दुवै रोजाका महत्वपूर्ण अङ्ग हुन्।

शारीरिक सम्बन्ध र मनोरञ्जनमा प्रतिबन्ध रमजान अवधिभर व्रत बस्नेहरूले दिनको समयमा श्रीमान–श्रीमतीबीच शारीरिक सम्बन्ध राख्न पाउँदैनन्। अश्लिल गफ, नाचगान तथा मनोरञ्जनात्मक गतिविधिमा समेत रोक लगाइएको छ। यस्ता कार्य गरे रोजा भंग हुने धार्मिक मान्यता छ। रातिको समयमा भने दाम्पत्य सम्बन्धका लागि छुट दिइएको छ।

दानपुण्यको महिना

रमजानलाई दानपुण्यको पर्वका रूपमा लिने गरिन्छ। यस महिनामा गरिने दानको ७० गुणा बढी पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। त्यसैले मुस्लिम समुदायले आफ्नो क्षमताअनुसार दीन–दुःखीलाई खाना, लत्ताकपडा तथा आर्थिक सहयोग गर्ने गर्दछन्।

यसैगरी रमजानमा जकात, सदका र फित्रा निकाल्ने नियम छ। वर्षभरि कमाएको सम्पत्तिबाट अढाई प्रतिशत रकम जकातका रूपमा निकाल्नुपर्ने उल्लेख धार्मिक ग्रन्थमा गरिएको छ।

रमजानको अन्तिम दिन ई–दुल–फित्रको नमाज अदा गरेर पर्वको समापन गरिन्छ, जसलाई साधारण भाषामा ईद भनिन्छ। ईद आपसी मेलमिलाप, खुशी र भाईचाराको पर्वका रूपमा मनाइन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद