
प्रणय शाह
बीरगंज ।
वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको उक्त छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली आदर्शनगरको उक्त गोदाममा पुगेको थियो। गोदाममा खानतलासी सुरु गरेपछि स्थानीय व्यापारीहरूले त्यसको विरोध गरेका थिए।
व्यापारीहरूले आफूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै सशस्त्र प्रहरीले विनाकारण जबरजस्ती दुःख दिएको आरोप लगाएका छन्। बिलबिजक देखाउँदा–देखाउँदै पनि सामान नियन्त्रणमा लिन खोजेपछि स्थिति तनावपूर्ण बनेको उनीहरूको भनाइ छ।
सशस्त्र प्रहरीका अनुसार सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको हो। आक्रमणबाट एक जना सशस्त्र प्रहरी घाइते भएका छन्, जसको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
व्यापारीले प्रहार गरेको ढुङ्गाबाट सशस्त्र प्रहरी चढेको गाडीको अगाडिको सिसा पनि फुटेको प्रहरीले जनाएको छ।
छापाका क्रममा उक्त गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिइएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण सार्वजनिक हुन बाँकी रहेको छ। “अहिले सामानको लगत लिने र मुचुल्का उठाउने काम भइरहेको छ। गोदाम कसको हो भन्ने विषय पनि अझै स्पष्ट भइसकेको छैन, अनुसन्धान जारी छ,” नायव उपरीक्षक विकास अधिकारीले बताए।
यता व्यापारीहरूले भने राज्यले वैध रूपमा व्यवसाय गर्नेहरूलाई समेत तस्करसरह व्यवहार गरेको भन्दै गुनासो पोखेका छन्। “कागज पूरा हुँदाहुँदै पनि बारम्बार छापा, सामान जफत र मानसिक तनाव सहनुपरेको छ,” एक व्यापारीले बताए।
बारम्बारको छापा र ‘सेटिङ’ को आशंका
यसैबीच, पछिल्लो करिब एक महिनायता बीरगंजको आदर्शनगर क्षेत्रमा सशस्त्र प्रहरीद्वारा दर्जनौं पटक गोदाम तथा निजी घरमा छापा मारिएको खुलासा भएको छ। स्थानीयवासीका अनुसार एउटै क्षेत्रमा पटक–पटक छापा पर्नुले तस्करी नियन्त्रणभन्दा पनि सशस्त्र प्रहरीभित्रको आन्तरिक ‘सेटिङ’ र स्वार्थको टकरावले काम गरिरहेको आशंका बढाएको छ।
स्थानीय स्रोतका अनुसार सीमावर्ती नाकाबाट अवैध रूपमा सामान तथा रकम भित्र्याउने क्रममा सशस्त्र प्रहरीका केही समूहबीच भागबण्डा र नियन्त्रणलाई लिएर विवाद चर्किएको छ। सोही विवादका कारण पहिले सहमतिमा सञ्चालन हुँदै आएका गोदाम र घरहरू अचानक छापाको निशानामा पर्न थालेको दाबी गरिएको छ।
“एक टोलीसँग कुरा मिलेपछि काम चल्थ्यो, तर अर्को टोलीसँग कुरा नमिल्दा छापा पर्ने गरेको देखिन्छ,” एक स्थानीय व्यवसायीले नाम नछाप्ने सर्तमा बताए।
स्थानीयको दाबी अनुसार कतिपय गोदाममा एकै महिनाभित्र दुई–तीन पटकसम्म छापा परेको छ। तर अधिकांश छापाबाट ठूला परिमाणका अवैध सामान फेला नपरेको भन्दै उनीहरूले प्रश्न उठाएका छन्। यदि यति ठूलो अवैध कारोबार थियो भने किन पटक–पटक छापा पर्दा पनि ठोस परिणाम देखिँदैन भन्ने जिज्ञासा स्थानीयले व्यक्त गरेका छन्।
व्यापारी र नागरिक समाजको चिन्ता
छापाका कारण आदर्शनगर क्षेत्रका व्यवसायी तथा सर्वसाधारण त्रसित बनेका छन्। वैध व्यापार गर्दै आएका व्यापारीहरूले समेत अनावश्यक दुःख पाउनुपरेको गुनासो गरेका छन्। छापाको समय र तरिकामाथि पनि प्रश्न उठ्दै आएको छ। कतिपय अवस्थामा सूचना चुहिएझैं गरी छापा पर्ने र कतिपय अवस्थामा अचानक रातिको समयमा टोली पुग्ने गरेको स्थानीयको भनाइ छ।
स्थानीय नागरिक समाजका अगुवाहरूले सशस्त्र प्रहरीभित्रै भइरहेको भनिएको आन्तरिक असमझदारी र अवैध रकम असुलीसम्बन्धी आरोपबारे निष्पक्ष छानबिनको माग गरेका छन्। “यदि छापा साँच्चै तस्करी नियन्त्रणका लागि हो भने हामी स्वागत गर्छौं,” एक अगुवाले भने, “तर आन्तरिक सेटिङ नमिल्दा छापा पर्ने हो भने त्यो गम्भीर विषय हो।”
सुरक्षा सतर्कता बढाइयो
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीले छापाको नाममा हुने कथित डर, दबाब र सम्भावित आर्थिक लेनदेनको अन्त्य हुनुपर्ने माग गरेका छन्। उनीहरूले गृह मन्त्रालय र सशस्त्र प्रहरीको केन्द्रीय नेतृत्वले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन र स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।



