वीरगन्ज ।
वीरगन्जको घण्टाघर छेउमा रहेको विपी उद्यान परिसर अतिक्रमणमुक्त गराई हरि पार्क निर्माण गर्न थालेको वीरगन्ज महानगरपालिकाले सोमबारदेखि वृक्षारोपण कार्य सुरु गरेको छ। हरित पार्क निर्माणको प्रारम्भिक चरणका रूपमा वृक्षारोपण कार्यक्रम थालिएको हो।
सोमबार बिहान आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वृक्षारोपण कार्यको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको विशेष उपस्थिति रहेको थियो।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा सुरु गरिएको वृक्षारोपणको पहिलो दिन अतिक्रमण हटाइएका जग्गाको पर्खाल छेउमा विभिन्न प्रजातिका रुखहरू रोपिएको छ। आगामी दिनमा थप वृक्षारोपण गर्दै क्षेत्रलाई पूर्ण रूपमा हरियाली बनाइने महानगरपालिकाले जनाएको छ।
त्यस अवसरमा मेयर राजेशमान सिंहले घण्टाघर क्षेत्र वीरगन्जको ऐतिहासिक पहिचान र प्रमुख केन्द्र भएकाले यसलाई स्वच्छ, हरियाली र आकर्षक बनाउनु महानगरपालिकाको प्राथमिकतामा रहेको बताए। उनले विपी उद्यान क्षेत्रलाई सार्वजनिक विश्रामस्थलका साथै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत हरि पार्क निर्माणको काम अघि बढाइएको स्पष्ट पारे।
महानगरपालिकाका अनुसार हरि पार्क निर्माणपछि शहरको वातावरणीय सन्तुलन कायम हुनुका साथै नागरिकका लागि खुला, सुरक्षित र रमणीय सार्वजनिक स्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।



