बारा । नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगन थापाले बारा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार भैयाराम यादवलाई आगामी निर्वाचनका लागि अग्रिम जितको शुभकामना दिएका छन्।
उम्मेदवारी घोषणा भएपछि पहिलोपटक सर्लाहीतर्फ प्रस्थान गर्ने क्रममा थापा सिमरा विमानस्थल पुगेका थिए। सोही अवसरमा बारा–पर्साका विभिन्न उम्मेदवार तथा राजनीतिक दलका विशिष्ट अगुवासँग भएको छोटो तर अर्थपूर्ण भेटघाटका क्रममा उनले यादवलाई सफल निर्वाचन यात्राको कामना गरेका हुन्।
राजनीतिक व्यस्तताबीच भएको यो भेटलाई आपसी सद्भाव, परिपक्व राजनीतिक संस्कार र सम्भावित चुनावी सहकार्यको संकेत का रूपमा हेरिएको छ। नेताहरूबीच देखिएको आत्मीयता र सकारात्मक सन्देशले चुनावी माहोलमा नयाँ चर्चा थपेको स्थानीयको प्रतिक्रिया छ।
विश्लेषकहरूका अनुसार यस्तो भेटघाटले प्रतिस्पर्धा मात्र होइन, सहकार्य र सम्मानमा आधारित राजनीति को सन्देश जनतामाझ प्रवाह गरेको छ।



