वीरगञ्ज — हिन्दु स्वयंसेवक संघ नेपालले समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरेको ‘समरसता उत्सव भव्य रूपमा सम्पन्न भएको छ।
माघ १ गते आयोजना गरिएको कार्यक्रम दिउँसो १ बजेदेखि सुरु भएको थियो। गहवामाई मन्दिर प्राङ्गणलाई केन्द्र बनाएर आयोजित उत्सवमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेका विविध गतिविधिहरू समावेश गरिएको थियो। कार्यक्रममा विभिन्न समुदायका विशिष्ट व्यक्तित्व, श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
माघे संक्रान्तिको अवसर पारेर आयोजना गरिएको समरसता उत्सवमा धार्मिक विधि, पूजाआजा, दीप प्रज्वलन तथा प्रसाद वितरण गरिएको थियो। कार्यक्रमको शुभारम्भ विश्व हिन्दु परिषद नेपालका विशिष्ट व्यक्तित्वहरूले दीप प्रज्वलन गर्दै ‘संगठित हिन्दु, समर्थ नेपाल’ भन्ने मूल नारालाई आत्मसात् गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतालाई प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा, सद्भाव र समभावलाई थप मजबुत बनाउनु रहेको थियो।
समरसता उत्सवकै अवसरमा महाप्रसाद ९खिचडी० पर्व पनि आयोजना गरिएको थियो। सो क्रममा सहभागीहरूले एउटै स्थानमा बसेर सामूहिक रूपमा महाप्रसाद ग्रहण गर्दै सामाजिक समानता र आत्मीयताको सन्देश दिएका थिए। सबै वर्गका सहभागीहरूले एकसाथ महाप्रसाद ग्रहण गर्दा समाजमा विद्यमान विभेद, असमानता र दूरी कम हुँदै जाने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका सदस्यहरूद्वारा परेड, धार्मिक अनुष्ठान, सामूहिक सहभागिता, सांस्कृतिक झल्को तथा समरसताको सन्देशमूलक गतिविधिहरू प्रस्तुत गरिएको थियो।
हिन्दु स्वयंसेवक संघ नेपालले सम्पूर्ण धर्मावलम्बी, सामाजिक अभियन्ता, युवा तथा आम नागरिकलाई यस्ता कार्यक्रममार्फत समरस, सशक्त र संगठित समाज निर्माणका लागि हातेमालो गर्न आह्वान गरेको छ।
आयोजक संस्थाले यस समरसता उत्सवले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भावको सशक्त सन्देश प्रवाह गर्ने विश्वास लिएको छ। कार्यक्रममा वीरगञ्जसहित आसपासका क्षेत्रका श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको विश्व हिन्दु परिषद नेपाल पर्साका सचिव दिपेन्द्र सर्फले जानकारी दिए।



