काठमाडौं — महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित सेवा तथा न्यायिक कार्यमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा कार्यरत पाँच जना प्रहरी कर्मचारीलाई प्रशंसा-पत्र तथा नगद पुरस्कारसहित सम्मान गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपाल भरीमै ” सर्वोत्कृष्ट प्रहरी ” घोषित भएकी छिन् ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लैंगिक हिंसाको १६ दिने अभियान अन्तर्गत आयोजित कार्यक्रमको अवसरमा रागनीलाई ४० हजार नगद पुरष्कार तथा प्रशंसापत्रसहित “सर्वोत्कृष्ट प्रहरी ” घोषित गरेका हुन्।
UNICEF को सहकार्यमा सञ्चालित “Strengthening Nepal Police – Women, Children and Senior Citizens Service Directorate on Justice for Children” कार्यक्रमअन्तर्गत १६ दिने मूल्यांकनको आधारमा देशभरका वि.च.ज.से. (महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र) मा कार्यरत प्रहरीहरूको कार्यसम्पादन मूल्यांकन गरिएको थियो।
मूल्यांकनमा रौतहट जिल्लामा कार्यरत एक प्रहरी अधिकारी देशव्यापी रूपमा प्रथम घोषित भएका छन्। उनीलाई उत्कृष्ट सेवा, घटनाको संवेदनशील व्यवस्थापन, तथा समुदाय–केन्द्रित कार्यप्रति देखाएकाे समर्पणका लागि विशेष प्रशंसा–पत्र प्रदान गरिएको हो। अन्य चारजना प्रहरीले क्रमशः कपिलवस्तु , सिन्धुली, पर्वत र झापा जिल्लाबाट सम्मान प्राप्त गरेका छन्।
यसैगरी ३० हजार नगद सहित प्रहरी चौकी बालकोट अर्घाखाँचीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छिन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेकी प्रहरी हवल्दार उमा तामाङ्ग २० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र सहित तृतीय भएर सम्मानित भएकी हुन्।
प्रहरी नायब निरिक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई नगद १० हजार सहित सान्त्वना पुरष्कार दिइएको छ।
नेपाल प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने प्रत्येक कर्मचारीलाई उचित नगद पुरस्कार तथा आधिकारिक प्रशंसा–पत्र प्रदान गरिएको छ। यसले महिला, बालबालिका तथा जेष्ठ नागरिक सुरक्षा सेवा केन्द्रहरूलाई अझ प्रेरित र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीले यस्ता कार्यक्रमहरूले संवेदनशील मुद्दामा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै समुदायमा भरोसा अझै मजबुत हुने विश्वास व्यक्त गरेका छन ।



