राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा शुक्रबार “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” अन्तर–विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न भयो। प्रतियोगिता बीरगंज पब्लिक कलेजको नयाँ भवन, पानिटकीमा आयोजना गरिएको थियो।
“Let All the National Private & Boarding Schools Be Unite” भन्ने नारासहित आयोजित कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। क्विज मास्टरको भूमिका छेडुप लामाले निर्वाह गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा यस्ता गतिविधिले महत्वपूर्ण योगदान पुर्याउने बताए। “शिक्षालाई गुणस्तरीय, अनुशासित र व्यवहारिक बनाउन महानगरले निरन्तर सहयोग गर्दै आएको छ,” उनले भने।
पर्साका ११ विद्यालय सहभागी रहेको प्रतियोगितामा नतिजा यसप्रकार रहेको छः
प्रथम : एन्जल इंग्लिस बोर्डिङ स्कुल
द्वितीय : विधा सदन इंग्लिस बोर्डिङ स्कुल
तृतीय : लर्ड बुद्ध स्कुल
विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। आज उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीले भोलि घन्टाघरस्थित क्लासिक बैंक्वेटमा हुने प्रदेशस्तरीय प्रतियोगितामा पर्साको प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रम नेसनल प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुर्यानारायण बिकले गरेका थिए।



