वीरगञ्ज । — तिहार पर्वको समापनसँगै आजदेखि तराई–मधेससहित देशभरि छठ पर्वको तयारी धमाधम सुरु भएको छ। तराई–मधेसको प्रमुख धार्मिक पर्व मानिने छठका अवसरमा वीरगञ्जलगायतका पोखरी, नदी र तलाउहरूमा तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
वीरगञ्जको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घडिअर्वा पोखरी छठघाटमा यस वर्षको छठ पूजाका लागि विशेष तयारी भइरहेको छ। छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी सम्पन्न भइसकेको छ।
उनका अनुसार यस वर्ष समितिले स्वास्थ्य, सरसफाइ र सुरक्षालाई विशेष प्राथमिकता दिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिनेछ भने स्वयंसेवकहरू समेत सक्रिय रूपमा खटिने व्यवस्था मिलाइएको छ।
वीरगञ्ज महानगरपालिकाको सहकार्यमा पोखरी परिसरमा खानेपानीका टंकीहरू राख्ने व्यवस्था मिलाइएको छ। समितिका अनुसार करिब २५ लाख रुपैयाँ बराबरको बजेटमा सम्पूर्ण तयारीहरू भइरहेको छन्।
यस वर्षको छठ पर्वमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायतका जिल्लासँगै भारतका पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्मका श्रद्धालुहरू सहभागी हुने अनुमान गरिएको छ। करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थिति हुने अपेक्षा गरिएको छ।
अध्यक्ष साहले भने, “छठ पूजाका लागि कुनै किसिमको दस्तुर वा शुल्क लिइँदैन। हामी पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गर्छौं र समान पहुँच सुनिश्चित गर्छौं। यहाँ कुनै प्रकारको काखापाखी हुँदैन,” उनले स्पष्ट पारे।
सांस्कृतिक तथा धार्मिक महत्व बोकेको यो पर्वलाई भव्य बनाउन पोखरी क्षेत्रको सजावट, प्रकाश व्यवस्था, सरसफाइ र अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। भक्तजनलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यका साथ सम्पूर्ण तयारीमा तीव्रता दिइएको छ।



