वीरगंज । हालैको आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहयोग गर्न विभिन्न संघसंस्थाहरू सक्रिय भइरहेका छन्। यसै क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले दश थान कम्प्युटर सेट ९यूपीएससहित० र चार थान प्रिन्टर महानगरलाई प्रदान गरेको छ।
संघले उक्त सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत अघि सारेको जनाएको छ। भदौ २४ गतेको आन्दोलनमा महानगर भवनसहित सूचना–प्रविधि उपकरण, फर्निचर र कागजात जलेर नष्ट भएपछि प्रशासनिक सेवा प्रभावित भएको थियो।
सामग्री हस्तान्तरण कार्यक्रममा वीरगंज महानगर प्रमुख राजेशमान सिंहले संघको सहयोगलाई पुनःसञ्चालनको मार्गमा ठूलो टेवा पुग्ने बताउँदै आगामी दिनमा पनि उद्योग–महानगर साझेदारीलाई सुदृढ बनाउने अपेक्षा व्यक्त गरे।
संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन घडीमा नगरपालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउँदै सबै पक्ष मिलेर पुनर्निर्माणमा हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी र उमेश श्रेष्ठको उपस्थिति रहेको थियो।
यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर सहयोग गरिसकेको महानगरले जनाएको छ। महानगरपालिकाले यस्ता सहयोगहरूले सेवा पुनःसञ्चालनलाई गति दिइरहेको र उद्योग–समुदाय साझेदारीलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ ।



