बारा — बाराको सुवर्ण गाउँपालिका–८ मझरिया गाउँमा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गरी कपाल काट्ने अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ।
पीडित ३३ वर्षीया सुरुजकली देवीलाई असोज ११ गते गाउँकै केही व्यक्तिहरूले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्नुका साथै अर्धनग्न बनाउँदै कपाल काटेका थिए।
जिल्ला प्रहरी कार्यालय बारामा दर्ता गरिएको जाहेरी अनुसार, बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित र सुरेश यादव नामका व्यक्तिहरूले सुरुजकलीमाथि आक्रमण गरेका हुन्।
घटनाको पृष्ठभूमिमा पीडितको निजी जमिनमा आरोपितले जबरजस्ती बाटो बनाएको विषयमा गाउँको प्रहरी चौकीमा उजुरी दिन जाँदै गर्दा उनीहरू बाटोमै रोकी बोक्सीको आरोप लगाउँदै हमला गरेको उल्लेख छ। आरोपितहरूले लुगा च्याते, कपाल काटे र शारीरिक तथा मानसिक यातना दिए।
पीडित सुरुजकली देवीले भनिन्
“मलाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गरे। लगाएको लुगा च्यातिदिए, अनि कपाल पनि काटिदिए। ती मान्छे होइनन् पशु हुन्। म न्यायको माग गर्छु। उनीहरूलाई कडा कारबाही होस्।”
उनका पति भूषण कुमार पंडित काठमाडौंमा रोजगारीमा रहेको बेला घटना भएको हो। उनले बताएस्
“छोरीको रुँदै गरेको फोन पाएपछि थाहा पाएँ। त्यो सुनेपछि म तत्काल काठमाडौंबाट घर फर्किएँ। यस्तो बर्बर व्यवहार मेरो श्रीमतीमाथि हुन्छ भन्ने सोच्नै सक्दिन।”
प्रहरी कारबाही
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक दिलीप थापाका अनुसार, चार आरोपितमध्ये ५३ वर्षीय लालदेव पंडितलाई पक्राउ गरिएको छ। बाँकी तीन जना फरार छन्, र उनीहरूको खोजी जारी छ।
चारै जनाविरुद्ध अपमानजनक र अमानवीय व्यवहार तथा बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।