पर्सा – कंचनजंघा स्कुल, वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत कपडा तथा नगद सहयोग गर्दै वीरगन्ज कपडा बैंकलाई ११ बोरा कपडा र नगद २,००० रुपैयाँ हस्तान्तरण गरेको छ।
मंगलबार स्कुलका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा रहेको टोलीले कपडा बैंकको कार्यालयमा पुगेर उक्त सहयोग बैंकका अध्यक्ष लालबाबु सिंहलाई प्रदान गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा कक्षा १० का विद्यार्थीहरु सुप्रिया घिमिरे, साक्षी गुप्ता, स्वेता साह, मन्नु साह, युवराज मित्तल, यश साहको सक्रिय सहभागिता रहेको थियो।
उक्त अवसरमा कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, सदस्यहरु नीला कुमारी राम, नवराज भट्टराई, कर्मचारी शोभा देवी लगायत अन्यको पनि उपस्थिति रहेको थियो।
स्कुल निर्देशक मोक्तानले भने, “वीरगन्ज कपडा बैंकले विगत केही वर्षदेखि निरन्तर रुपमा विपन्न, असहाय, आगलागी तथा बाढी पीडितलाई सेवा गर्दै आएको देखेर हामी प्रभावित भयौं। विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वको भावना विकास गराउन यस्तो सहयोग गरिएको हो। आगामी दिनहरूमा पनि हाम्रो साथ रहनेछ।”
कपडा बैंकका सल्लाहकार उपाध्यायले संस्थाको मूल मन्त्र “तपाईं संग धेरै छ भने दिनुहोस्, छैन भने लिनुहोस्” स्मरण गराउँदै भने, “६ वर्षदेखि वीरगन्ज–८ मा कार्यालय स्थापना गरी विभिन्न स्थानमा सेवा दिइरहेका छौं। नाङ्गो कोही नरहोस्, सुकिला र जाडोमा न्यानो कपडा सबैले पाओस् भन्ने हाम्रो उद्देश्य हो।”
त्यस्तै, बैंकका अध्यक्ष सिंहले कंचनजंघा स्कुलले विगतदेखि नै सामाजिक सेवामा सकृय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे। उनले भने, “बिद्यार्थीहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने यस्तो प्रयास सराहनीय छ। स्कुल परिवारप्रति बैंक परिवार आभारी छ।”



