परवानीपुर, बारा । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा स्थानीय बासिन्दाले “सर्वदलीय बाटो निर्माण संघर्ष समिति” गठन गरी बाटो निर्माणका लागि आन्दोलन शुरु गरेका छन्।
संघर्ष समितिले शनिबार एक भेलापछि गाउँपालिकाले बाटो निर्माणमा लापरबाही गरेको भन्दै तत्काल न्यायिक समितिको अघिल्लो निर्णय कार्यान्वयन गर्न माग गरेको हो। समितिका सदस्यहरूले वडाभित्र परिक्रमा गर्दै जनचेतनामूलक गतिविधि समेत गरेका थिए।
समितिले न्यायिक समितिले २०७९ साल असार १७ गते गरेको निर्णय अझै लागू नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। “निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइन्छ,” समितिले चेतावनी दिएको छ।
यसैबीच, संघर्ष समितिले आगामी आइतबार वडा कार्यालयलाई एक घण्टा घेराउ गर्ने कार्यक्रमको घोषणा समेत गरेको छ।
स्थानीयवासीहरूले बाटो अभावमा दैनिक जीवनमा समस्या हुँदै आएको गुनासो गर्दै, सबै राजनीतिक दलका कार्यकर्ताहरू एकजुट भएर संघर्ष समिति गठन गरिएको बताएका छन्।



