वीरगंज, पर्सा ।
भोजपुरी भाषामा प्रकाशन हुँदै आएको भोजपुरी टाइम्स दैनिकले आफ्नो १२औं वार्षिकोत्सव एक भव्य समारोहका साथ शुक्रबार वीरगंजमा सम्पन्न गरेको छ। कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा आश्रित गरिब, दलित तथा असहाय बालबालिकाहरूलाई खाद्यान्न चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुट र शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।
कार्यक्रम पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा प्रमुख अतिथि थिए। उनले भोजपुरी टाइम्सले १२ वर्षको यात्रामा मातृभाषा पत्रकारिता र सामाजिक चेतनामा उल्लेखनीय योगदान दिएको बताए।
ूभाषिक पत्रकारिताको क्षेत्रमा भोजपुरी टाइम्सको यात्रा प्रेरणादायी छ। यो केवल समाचार प्रकाशनको काम होइन, भाषाको अस्तित्व र पहिचानको संघर्षको प्रतीक हो, बञ्जाराले भने।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, महासंघका केन्द्रिय परिषद सदस्य राघव साह, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पीठाकोटे मगर, तथा कुमुदिनी एकेडेमीका सञ्चालक श्रीरामजी गिरी कार्यक्रमका विशिष्ट अतिथिहरू थिए। सबै वक्ताहरूले मातृभाषा पत्रकारिता प्रवर्द्धन गर्ने यो पत्रिकाको योगदानको सराहना गर्दै भविष्यमा अझ उचाईमा पुग्ने कामनासमेत व्यक्त गरे।
कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य श्याम सर्राफले गरेका थिए भने स्वागत मन्तव्य कार्यकारी सम्पादक श्रवण प्रसाद साहले व्यक्त गरेका थिए।
भोजपुरी टाइम्स दैनिकले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषिक, सामाजिक र सांस्कृतिक चेतनाको विकासमा निरन्तर भूमिका खेल्दै आएको छ। वार्षिकोत्सवमा गरिएको मानवीय सहयोगले पत्रिकाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको छ।



