पर्सा । वीरगञ्ज लगायत तराईका विभिन्न क्षेत्रहरूमा पानीको मुहान सुकेपछि उत्पन्न जल संकटले स्थानीय बासिन्दा पीडित भइरहेका छन्। विशेषगरी मधेश प्रदेशमा बर्खाको मौसम हुँदाहुँदै पनि पानीको अभाव गम्भीर समस्याका रूपमा देखिन थालेको छ।
यसै समस्यालाई ध्यानमा राख्दै युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त पहलमा पर्सा जिल्लामा रहेको चार स्थानीय संस्थाहरू नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र, तथा एन.जी.ओ. सि.सि. को सहकार्यमा ‘पानीको बचत र जिम्मेवार प्रयोग’ सम्बन्धी सातदिने जनचेतनामूलक अभियान सुरु गरिएको छ।
विद्यालयस्तरबाट अभियानको शुरुआत अभियान अन्तर्गत वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी बचाउने तरिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको हो।
प्रशिक्षण सत्रमा घरेलु प्रयोगमा पानीको खपत घटाउने उपाय, वर्षा पानी संकलन, लिक भएका धारा मर्मत, र पानीको पुनः प्रयोग जस्ता महत्वपूर्ण बिन्दुहरूमा ध्यान दिइएको थियो।
यस्तै समाजसेवीको सक्रिय सहभागिता प्रशिक्षण कार्यक्रमको नेतृत्व नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहले गर्नुभएको थियो। उहाँको सहकार्यमा नन्दनी गुप्ता र प्रिया कुश्वाहाले प्रशिक्षणलाई सहज बनाएका थिए। साथै, (एन.जी.ओ. सि.सि.)का प्रतिनिधिहरू दुलारचन प्रसाद र आनन्द यादवको समेत सक्रिय सहभागिता रहेको थियो।
स्वयंसेवक परिचालन र समुदायमा प्रत्यक्ष अभियानको प्रभावलाई समुदायस्तरसम्म पुर्याउन अत्यधिक प्रभावित वडाहरूमा स्वयंसेवक परिचालन गरेर जनचेतना फैलाइएको छ। अभियानले विद्यालय र समुदायबीच सेतुको काम गर्दै जल संरक्षणको अभ्यासमा व्यवहारिक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
कार्यक्रमका आयोजकहरूका अनुसार दीर्घकालीन समाधानतर्फको पहल यस्तो सचेतनामूलक पहलले विद्यार्थीहरूमात्र होइन, सम्पूर्ण समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उनीहरूको भनाइमा, जल संकटको दीर्घकालीन समाधान यस्ता जनस्तरीय चेतना कार्यक्रममार्फत नै सम्भव छ।
सो कार्यक्रम अन्य जिल्लामा समेत विस्तारको तयारी स्थानीय तहबाट सुरु गरिएको (पानी बचाउ अभियान)लाई आगामी दिनहरूमा मधेश प्रदेशका अन्य जलसंकट प्रभावित जिल्लाहरूमा समेत विस्तार गर्ने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्।



