वीरगन्ज — नेपाली कांग्रेसले पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले गुप्तालाई पार्टीको सदस्यताबाट निष्काशन गर्ने निर्णय गरेको हो।
२०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीद्वारा समर्थन प्राप्त उम्मेदवारलाई गुप्ताले असहयोग गरेको आरोपमा परेको उजुरीका आधारमा सो निर्णय गरिएको हो। समितिको असार १७ गतेको बैठकले उपलब्ध प्रमाणको अध्ययन गरी निर्णय गरेको जनाइएको छ।
समितिले गुप्तासँग मागिएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले उनलाई १ वर्षका लागि पार्टी सदस्यताबाट निष्काशन गर्ने निर्णय गरिएको हो। सो कुरा समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले मधेस प्रदेश समितिलाई बुधबार पठाएको पत्रमार्फत जानकारी गराएका छन्।
ढुंगानाका अनुसार, नेपाली कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा १ (क), (ख), (घ) तथा उपधारा ८ (ङ) बमोजिम कारबाही गरिएको हो।
वीरगन्ज महानगरपालिका–१२ का स्थायी बासिन्दा गुप्ता, कांग्रेसभित्र वरिष्ठ नेता डा। शेखर कोइरालाको नजिकको नेताका रूपमा चिनिन्छन्। उनीमाथि गरिएको कारबाहीले मधेस प्रदेशको कांग्रेस राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ।