वीरगंज — वीरगंज महानगरपालिका वडा नं. १० मा समाजसेवी अजय कुमार गुप्ताद्वारा वडामा निःशुल्क पानी वितरण सुरू गरेका छन् । पछिल्ला केही महिनादेखि वीरगंज महानगरपालिका र आसपासका क्षेत्रहरूमा चापाकल सुकेर गम्भीर खानेपानी संकट उत्पन्न भएको छ। यस्तो संकटको बेला वीरगंज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले अभूतपूर्व मानवता र सेवा भावनाका साथ निःशुल्क पानी वितरण सुरू गरेका हुन्।
गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फत पानी ल्याई वडाभित्र ट्याङ्कीमा भरेर वितरण गर्ने कार्य थाल्नुभएको हो। उहाँ आफैं घर–घर पुगेर पानी बाँडिरहनुभएको छ, ताकि कुनै पनि परिवार पानीको अभावमा नपरोस्।
यस मानवीय सेवामा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई महत्वपूर्ण साथ दिएका छन्।
गुप्ताले भने यो समय राजनीतिक लाभको होइन मानव सेवाको हो। चापाकल सुक्नुले सर्वसाधारणले भोगिरहेको समस्या देखेर उहाँले राजनीतिक प्रचारभन्दा माथि उठेर सेवाको बाटो रोजेका छन्। उहाँले समस्या समाधान नहुन्जेलसम्म यो सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीयवासीहरूले गुप्ताको प्रयासलाई अत्यन्त सकारात्मक, साहसी र अनुकरणीय भन्दै खुलेर प्रशंसा गरेका छन्।
वीरगंजका विभिन्न वडामा पानी वितरणमा पक्षपात भइरहेको गुनासो आइरहेको बेला, गुप्ताले आम नागरिकलाई प्राथमिकतामा राखेर देखाएको निष्पक्ष सेवा उल्लेखनीय रहेको छ।