वीरगन्ज । मोहर्रम पर्वको अवसरमा वीरगन्जमा सामाजिक सद्भाव भङ्ग गर्ने गम्भीर प्रयास गरिएको घटनालाई स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले समयमै हस्तक्षेप गरी विफल पारेका छन्।
आजको मोहर्रमको ताजिया कार्यक्रमलाई सर्वदलीय निर्णय विपरीत आदर्शनगर रंगशाला लैजाने प्रयास गरिएको थियो। यो कदमले स्थानिय समुदायबीच तनाव उत्पन्न गर्ने सम्भावना बढेपछि स्थिति संवेदनशील बन्न पुगेको थियो।
यसअघि, बिहीबार बसेको सर्वदलीय बैठकले ताजिया जुलुस तथा कार्यक्रम पुरानो बसपार्क क्षेत्रमै सीमित गर्ने निर्णय गरेको थियो। बैठकमा आदर्शनगर रंगशालालाई खेलकुद प्रयोजनका लागि सुरक्षित राख्ने सहमति सबै पक्षबीच भएको थियो।
तर, उक्त निर्णयको अवज्ञा गर्दै १०–१५ जनाको समूहले ताजिया रंगशालातर्फ लैजाने प्रयास गरेपछि सुरक्षा निकायहरू सतर्क बने। प्रहरी प्रशासनले सुझबुझ, संयमता र रणनीतिक तयारी सहित ताजियालाई रंगशालामा प्रवेश गर्न रोक्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।
कुनै पनि झडप वा हिंसात्मक घटना नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरूलाई संवेदनशील बिन्दुहरूमा तैनाथ गरिएको थियो।
घटनापछि स्थानीय नागरिक, धार्मिक अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रशासनको सूझबुझपूर्ण भूमिकाको प्रशंसा गरेका छन्। मुस्लिम समुदायका अगुवाहरूले समेत सामाजिक सद्भाव जोगाउन सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले भनेका छन्, ूनिर्णय लत्याएर कार्यक्रम गर्न खोज्नु भनेको सद्भाव भङ्ग गर्ने षड्यन्त्र हो।ू
यस घटनाले धार्मिक पर्वलाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रयास भएको आशंका जन्माएको छ। नागरिक समाजका विश्लेषकहरूका अनुसार, ूधार्मिक भावनालाई राजनीतिक शक्ति प्रदर्शनमा रूपान्तरण गर्न खोज्नु दीर्घकालीन रूपमा समाजका लागि घातक हुन सक्छ।ू



