पर्सा । वीरगन्ज महानगरपालिका–१६ मा शुक्रबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। रजत जयन्ति चोकदेखि बाइपास सडक हुँदै वैष्णवी मन्दिरसम्मको सडक डिभाइडर र फुटपाथमा विभिन्न प्रजातिका ४ सयभन्दा बढी विरुवा रोपिएको छ।
कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले विरुवा रोपेर गरेका थिए।
वृक्षारोपण कार्यक्रम ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, र वीरगन्ज महानगरपालिकाको संयुक्त आयोजनामा गरिएको हो। ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानका अनुसार हरियाली प्रवर्द्धन र वातावरण संरक्षणका लागि यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाली सेनाका कर्णेल निराजन कटुवाल, सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा, साबिह दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनी, युवा अभियन्ता दिलिपराज कार्की, कमल चौगाई, वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामी लगायत विभिन्न निकायका प्रतिनिधि तथा सुरक्षाकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो।



