पर्सा । वीरगन्ज महानगरपालिकाले त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको सडक विस्तार कार्य सुरु गरेपछि स्थानीय घरधनी र व्यापारीले विरोधस्वरूप शुक्रबार मेनरोडका पसलहरु बन्द गरेका छन्।
वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको संयोजनमा गरिएको विरोध कार्यक्रमअन्तर्गत शुक्रबार बिहानदेखि ११ बजेसम्म बजार बन्द गरिएको हो। विरोध स्वरूप स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने मेनरोडस्थित अधिकांश घरमा कालो झण्डा समेत राखिएको छ।
संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताका अनुसार महानगरपालिकाले तोडफोडको नाममा कानुन विपरीत नागरिकका निजी सम्पत्तिमा हस्तक्षेप गरिरहेको भन्दै आन्दोलनमा उत्रनु परेको हो।
यसअघि मंगलबार प्रभावित घरधनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका थिए।
तर वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सडक विस्तार कार्य थालिएको स्पष्ट पारेको छ। सोमबारदेखि वीरगन्ज भन्सार क्षेत्रबाट सुरु गरिएको अभियानमा डोजर लगाएर सडक क्षेत्रभित्रका संरचना हटाउने काम भइरहेको छ।
यसैबीच, घरधनीहरुले महानगरको कार्य क्षेत्राधिकार बाहिर पुगेको भन्दै अविलम्ब तोडफोड रोक्न माग गरेका छन्।



