वीरगन्ज – वीरगन्जको प्रमुख धार्मिक तीर्थस्थल गहवामाई मन्दिरको पुनर्निर्माण भएको १३ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजना हुने ‘गहवामाई रथयात्रा’लाई लक्षित गर्दै स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार, पछिल्लो समय धार्मिक कार्यक्रमका क्रममा उत्पन्न सम्भावित तनावलाई मध्यनजर गर्दै वीरगन्जमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’मा राखिएको छ। “रथयात्राको सुरक्षा व्यवस्था सुदृढ बनाउन हामीले तयारी पुरा गरिसकेका छौं,” प्रजिअ अर्यालले बताए।
गत चैत ३० गते हनुमान जयन्तिको शोभायात्रामा दुई धार्मिक समुदायबीच झडप भएपछि वीरगन्जमा तीन दिनसम्म तनावपूर्ण अवस्था सिर्जना भएको थियो। त्यस घटनालाई दृष्टिगत गर्दै प्रशासनले यसपटक थप सावधानी अपनाएको हो।
बिहीबार बिहान प्रजिअ अर्यालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरूको टोलीले रथयात्राको परिक्रमा गर्ने रुटको स्थलगत निरीक्षण गरेको थियो।
यसका साथै, सुरक्षा समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समिति, वीरगन्ज महानगरपालिका तथा सुरक्षा निकायबीच समन्वयात्मक बैठक समेत सम्पन्न भएको अर्यालले जानकारी दिए।
रथयात्राको सुरक्षाका लागि आवश्यकता अनुसार अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी थप गरेर परिचालन गरिने बताइएको छ। यसैबीच, मधेस प्रदेश प्रहरी प्रमुख तथा डिआइजी उमा चर्तुवेदीले पनि केही दिनअघि वीरगन्ज पुगेर रथयात्रा मार्गको अवलोकन गरेका थिए।
एक लाखभन्दा बढी भक्तजनको सहभागिता हुने अनुमान
गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले पत्रकार सम्मेलनमार्फत रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती शहरबाट एक लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको जानकारी दिए।
रथयात्रा व्यवस्थापनका लागि समितिबाट दुई सयभन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ। अध्यक्ष पोखरेलका अनुसार, रथयात्राको तयारी पूरा भइसकेको छ र यस आयोजनामा करिब २०–२५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
शुक्रबार बिहान ७:३० बजे गहवामाई मन्दिरबाट विशेष पूजा पश्चात् रथयात्रा सुरु हुनेछ। यात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै साँझ पुनः मन्दिर प्रांगणमै समापन हुनेछ।
शुक्रबार साँझ मन्दिर परिसरमै धार्मिक भजन–कीर्तन आयोजना गरिने र शनिबार साँझ ‘महाभण्डारा’ कार्यक्रमको आयोजना गरिनेछ।
शैक्षिक संस्था बन्द
रथयात्रालाई व्यवस्थित बनाउन वीरगन्ज महानगरपालिकाले शहरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शुक्रबार एकदिने बिदा दिएको छ।



