वीरगन्ज — वीरगन्ज महानगरपालिकामा असार १३ गते गहवामाईको भव्य रथ यात्रा आयोजना गरिने भएकोले सो दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने भएका छन्।
बुधवार वीरगन्ज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा, रथ यात्राको दिन विद्यार्थीको सुरक्षा र सहजीकरणका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, “असार १३ गते वीरगन्जमा गहवामाईको भव्य रथ यात्रा हुने भएकाले महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा उक्त दिन पठनपाठन स्थगित गरिएको ब्यहोरा सबैमा जानकारी गराइन्छ।”
यसअघि पनि गत वर्ष असार २३ गते गहवामाई मन्दिरको १२ वर्ष पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको रथ यात्राका दिन विद्यालयहरूमा विदा दिइएको थियो।
गहवामाईको रथ यात्रा वीरगन्जको संस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको ऐतिहासिक पर्व हो, जसमा हजारौं श्रद्धालुहरूको सहभागिता हुने गर्दछ।



