संक्रामक तथा महामारीजन्य रोग, खानेपानी तथा खाद्य गुणस्तर निगरानी कार्यलाई थप सशक्त बनाउन वीरगञ्ज महानगरपालिकाले होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

२०८२ असार ६ गते मकालु होटलमा आयोजित कार्यक्रममा खाद्य सुरक्षा, सरसफाइ र स्वास्थ्यप्रद सेवाका विषयमा जागरूकता दिने उद्देश्य राखिएको थियो। कार्यक्रममा खानेपानी, सरसफाइ तथा सरोकार क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित व्यवसायीहरूलाई सरोकारवाला निकायहरूबाट आवश्यक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले महानगर अनुगमनकारी निकाय पनि भएकोले अनुगमन गर्नु अधि सबै होटल तथा रेस्टुरेन्ट ब्यबसायिहरुले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि सम्पुर्ण जानकारी प्राप्त गरून् भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेकोले अब महानगर अनुगमनमा आउँदा सम्पुर्णरूपमा चुस्त दुरुस्त हुन निर्देशन दिएका थिए । उनले सिकेका कुरालाई ब्यबहारमा उतार्न पनि अनुरोध गरे ।
अभिमुखिकरण कार्यक्रमका सभापतित्व गरेका होटल तथा पर्यटन व्यावसायि संघ पर्साका अध्यक्ष हरि पन्तले अभिमुखिकरण होटल ब्यबसायिहरुको लागि उपलब्धि मुलक रहेकोले यसबाट ब्यबसायिहरुले धेरै कुराहरु सिक्ने मौका पाएको बताए । अध्यक्ष पन्तले अनुगमनकारी निकायहरुले अनुगमन गर्दा कतिपय कुराहरु ब्यबहारिक रूपमा समेत आत्मसात गर्नु पर्ने बताए । कार्यक्रम हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधानले सन्चालन गरेका थिए ।
अभिमुखीकरणको क्रममा संक्रमण नियन्त्रण, होटलमा स्वच्छता मापदण्डको प्रयोग, तथा खाद्य गुणस्तर परीक्षणको महत्व बारेमा प्राविधिक विज्ञहरूद्वारा जानकारी दिइएको थियो।



