सर्लाही, बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले आइतबार बिहान ६:१५ बजे वीरगञ्जबाट ईटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्र.ना.नि. सुभाष यादवको कमाण्डमा खटिएको टोलीले ट्रक रोकी कडाइका साथ जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकभित्र टायर, आपमा छर्ने औषधि, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक सामान, कस्मेटिकसहितका विभिन्न किसिमका खुद्रा सामानहरू फेला परेका छन्।
प्रहरीका अनुसार ती सबै सामानहरूमा आवश्यक कागजात, पञ्जीकरणपत्र र बिल-बिजक शंकास्पद पाइएका छन्। ती सामानहरूको अनुमानित बजार मूल्य रु ४२ लाख ४० हजार ३४७ रहेको बताइएको छ।
उक्त ट्रक र सामान अहिले ईलाका प्रहरी कार्यालय कर्मैयाको नियन्त्रणमा राखिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको स्थान चेकपोष्टबाट करिब ५० मिटर दक्षिणतर्फ पर्दछ।



