पर्सा, पटेर्वासुगौली – पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गुदरबाबा मन्दिर परिसरमा सम्पन्न कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा सृजनशील महिला विकास केन्द्र, वीरगञ्जको समन्वयमा गरिएको हो।
कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष ममता महतोको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
उपाध्यक्ष महतोले चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ८७ वटा साना तथा ठूला योजनाहरू सम्पन्न भएको जानकारी दिँदै, “कृषि, पर्यटन, हरियो वन! समृद्ध पटेर्वासुगौलीको खुशीयाली मन!!” भन्ने नारासहित गाउँपालिकाले अघि सारेका नीति तथा कार्यक्रमहरू कार्यान्वयन भइरहेका बताइन्।
उनका अनुसार कृषि परियोजनाअन्तर्गत विद्युत पोल तथा तार जडान, दुईवटा कोल्ड स्टोर निर्माण, कृषि बजार व्यवस्थापन जस्ता पञ्चवर्षीय योजना सञ्चालनमा छन्। यस्तै ‘एक वडा, एक माध्यमिक विद्यालय’ कार्यक्रम तथा ‘खेल्दै सिक्दै’ कार्यक्रममार्फत शैक्षिक सुधारका प्रयास भइरहेको उल्लेख गरिन्।
महतोले वडा नं. ४ को नवनिर्मित वडा कार्यालय सञ्चालनमा आएको र पालिकाको आफ्नै प्रशासनिक भवन पनि चाँडै सञ्चालनमा आउने जानकारी दिइन्। साथै सडक ढलान, नाला निर्माण, बाउण्ड्रीवाल, सामुदायिक भवन, सिँचाइका मुहान संरक्षण लगायतका भौतिक पूर्वाधार विकासका कामहरू पनि सम्पन्न भएको बताइन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट सीमित भए पनि प्राथमिकता अनुसार योजना कार्यान्वयन भइरहेको जानकारी दिए। उनले सरकारले पछिल्ला वर्षहरूमा बजेट कटौती गर्दै आएको भए पनि कार्यालयबाट सेवा प्रवाहमा सहजता कायम गरिएको बताए।
सार्वजनिक सुनुवाईका क्रममा सर्वसाधारणले सिँचाइ, सडक, विद्युत पोल र तारको माग राख्दै, थारु समुदायको सहभागिता उच्च भए पनि दलित तथा मुस्लिम समुदायको सहभागिता न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। यस्तै, शिवम ह्याचरीबाट आउने दुर्गन्धले बस्तीमा असर पारेको गुनासो पनि कार्यक्रममै उठाइएको थियो।
कार्यक्रममा वडा अध्यक्ष विजय गैरे, माधव राउत थारु, बासु पञ्जियार, पूर्व गाविस अध्यक्ष प्रमेश्वर गौरोलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चारकर्मी माधुरी महतोले सञ्चालन गरेकी थिइन् भने सहजीकरण क्रान्ति साहले गरेका थिए।



