जनकपुरधाम, धनुषा — धनुषा जिल्ला अदालतले वैवाहिक बलात्कारको मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ।

न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशबाट सुनाइएको यो फैसलाले वैवाहिक सम्बन्धमा जबरजस्ती करणीको संवेदनशील मुद्दामा ऐतिहासिक निर्णय गरेको छ।
२०७९ चैत २१ गते, पीडित श्रीमतीले जिल्ला अदालतमा श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेकी थिइन्। २०८० साउन २१ गते पहिलो पेशी चढिएको यो मुद्दामा अदालतले प्रारम्भमा धरौटी माग गर्ने आदेश दिएको थियो।
कुल ३६ वटा पेशी चलेपछि, जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न आदेश दिइएको थियो। त्यसपछिको शुक्रबारको अन्तिम पेशीमा, अदालतले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय र पीडितलाई रु. १,००,००० क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।
यो फैसलाले वैवाहिक बलात्कारसम्बन्धी कानुनी कार्यान्वयनमा उदाहरणीय निर्णयको रूपमा लिइएको छ।



