वीरगन्ज, असार १ — वीरगन्जमा डेंगु संक्रमण नियन्त्रण गर्न निरन्तर तीन वर्षदेखि चलाइएका अभियानहरू जनसहभागिताको अभावमा प्रभावहीन बन्दै गएका छन्। स्वास्थ्यकर्मीहरू आक्रोशित हुँदै अब कठोर कदम चाल्नुपर्ने बेला आएको स्पष्ट संकेत दिएका छन्।
पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, वीरगन्जका पसल, टायर गोदाम, गमलामा जमेको पानी, र अव्यवस्थित कबाडी स्थलहरूले डेंगु सार्ने लामखुट्टेहरूलाई सहज बासस्थान उपलब्ध गराउँदै आएका छन्। “हामी अभियान चलाइरहेका छौं, तर नगरबासीहरूले बेवास्ता गर्दै आएका छन्। अब नचाहँदा पनि निर्मम बन्नुपर्ने समय आइसक्यो,” ठाकुरले स्पष्ट शब्दमा भने।
तीन वर्षमा १००० भन्दा बढी संक्रमित
स्वास्थ्य कार्यालयका अनुसार, वीरगन्जमा पछिल्ला तीन आर्थिक वर्षमा कुल १,०१८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
२०७९/८०: १९९ संक्रमित
२०८०/८१: ३४९ संक्रमित
२०८१/८२ (हालसम्म): ४७० संक्रमित
संक्रमणको यो तीव्र वृद्धिदर डरलाग्दो अवस्थाको संकेत हो। नगरमा हरेक वर्ष डेंगुको जोखिम बढ्दो छ, तर नियन्त्रण प्रयासमा जनसहयोगको अभाव प्रमुख चुनौती बनेको छ।
महानगरको चेतावनी: अब सहयोग नगर्नेहरूमाथि कारबाही
शनिबार आयोजित अभिमुखीकरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले पनि स्थिति गम्भीर बन्दै गएको स्वीकार गर्दै भने, “हामीले बारम्बार चेतावनी दिँदै आएका छौं, अब सहयोग नगर्नेहरूमाथि कारबाहीको बाटो लिनु विकल्प रहँदैन।”
कर्णका अनुसार, नगरपालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गर्दै अभियानलाई अझ प्रभावकारी बनाउने र कठोर नीति अपनाउने तयारी गरिरहेको छ।
तीन दिने वडागत अभियान सुरु हुँदै
महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरका अनुसार, डेंगु विरुद्धको नयाँ अभियान शहरी क्षेत्रका वडाहरू १ देखि १६ सम्म सञ्चालन हुने छ। हरेक वडामा तीन दिनसम्म लामखुट्टेको बासस्थान खोजी, लार्भा नष्ट, औषधि छर्काइ र जनचेतनामूलक पर्चा वितरण गरिने छ।
कार्यक्रममा व्यापक सरोकारवालाको उपस्थिति
प्रमुख प्रशासकीय अधिकृत कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठ, खुश्बु यादव, महानगरको स्वास्थ्य महाशाखा प्रमुख राजु साह लगायत वडास्तरीय स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।



