पर्सा, सखुवा प्रसौनी –
स्थानीय प्राकृतिक स्रोतको संरक्षणमा चासो देखाउँदै पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ जमुनिया खोलाबाट अवैध रूपमा गिट्टी र बालुवा उत्खनन गरेर लैजाँदै गरेका दुई वटा ट्याक्टर प्रहरीको निगरानीमा परेका छन्।
सोमबार बिहान इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गस्तीका क्रममा जमुनिया खोलाबाट गिट्टी लोड गरिएको प्र.२–०३–००१ त.१५७ नम्बरको ट्याक्टर र बालुवा लोड गरिएको प्रदेश २–०३–००१ च १२९२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्राकृतिक स्रोतको अवैध दोहनविरुद्धको अभियानअनुरूप नियन्त्रणमा लिइएका दुवै ट्याक्टर अहिले इलाका प्रहरी कार्यालयको परिसरमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
स्थानीय बासिन्दाहरूले खोलाको निरन्तर उत्खननले वातावरणमा प्रतिकूल असर पार्न थालेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। प्रहरीको यो पहलले स्रोतको दिगो व्यवस्थापनतर्फ सकारात्मक सन्देश दिने स्थानीयको प्रतिक्रिया छ।



