काठमाडौं —
अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका थप ३७ जना नेपाली आइतबार मध्यरात काठमाडौं आइपुगेका छन्। अमेरिकी सरकारको चार्टर्ड विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। काठमाडौं आइपुगेका नेपालीमध्ये ५ जना महिला र ३२ जना पुरुष रहेका छन्।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले आप्रवासीहरूप्रति कडा नीति अपनाउँदै आएको छ। विशेषगरी भिसा बिना गएका, भिसा अवधि सकिएकोमा पनि बसेका र आपराधिक गतिविधिमा संलग्न रहेका आप्रवासीहरूलाई अमेरिकी सरकारले डिपोर्ट गर्ने नीति कडाईका साथ लागू गर्दै आएको छ।
गत जनवरी यता मात्रै झन्डै १५० जना नेपालीलाई अमेरिका सरकारले फिर्ता पठाइसकेको छ। यसरी फर्काइएका अधिकांश नेपाली दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका थिए। उनीहरूले दलाललाई लाखौँ रुपैयाँ बुझाएर जोखिमपूर्ण यात्रा तय गरेका थिए।
तर दुर्भाग्य, फिर्ता पठाइएपछि पनि पीडित नेपालीहरूले दलालविरुद्ध उजुरी दिएका छैनन्। अमेरिकी प्रशासनले भने अवैध आप्रवासीविरुद्ध कानुनी कारवाहीलाई अझ तीव्र बनाउने संकेत दिएको छ।
विशेषज्ञहरूको भनाइमा, अमेरिकी प्रशासनको पछिल्लो कडाइका कारण भविष्यमा अवैध आप्रवासन रोक्न थप सचेतना आवश्यक रहेको देखिन्छ।



