बर्दीबास, जेठ २४ – सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले शनिबार बर्दीबासमा साइकल र्याली आयोजना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा बर्दीबास नगरपालिका, रोटरी क्लब अफ बर्दीबास, मधेश प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी लगायत विभिन्न संघसंस्थाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
‘तीव्र गति जीवन क्षति’, ‘सेफ ड्राइव्स, लङ लाइफ’, ‘सवारी चलाउँदा मोबाइलको प्रयोग नगरौं’, ‘ट्राफिक नियम मिच्नु शर्मको विषय हो’ जस्ता सचेतनामूलक प्लेकार्डसहितको र्याली बर्दीबास खुला चौरबाट सुरु भई पूर्व–पश्चिम लोकमार्ग, बर्दीबास–जलेश्वर मार्ग र विपी राजमार्गका प्रमुख चोकहरूको परिक्रमा गरिएको थियो।
साइकल र्यालीमा बर्दीबास नगर प्रमुख प्रहलाद क्षेत्री, होटल तथा पर्यटन महासंघ मधेश प्रदेश अध्यक्ष हीरा गौतम, जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशी, बर्दीबास साइक्लिङ क्लब अध्यक्ष प्रदीप कार्की, बर्दीबास हेल्प फाउन्डेसन अध्यक्ष कुमार भण्डारी, नागरिक अभियन्ता, पेसाकर्मीलगायत सयौं सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले भने, “सुरक्षित यात्रा प्रत्येक नागरिकको अधिकार हो। ट्राफिक व्यवस्थापनमा सवारी चालक, पैदल यात्रु र समुदाय सबैको जागरुकता जरुरी भएकाले साइकल र्यालीजस्ता रचनात्मक गतिविधिले समाजमा सकारात्मक सन्देश फैलाउँछ।”
त्यसै अवसरमा जिल्ला ट्राफिक प्रहरी प्रमुख लक्ष्मीराज जोशीले आर्थिक वर्ष ०८१/८२ को साउनदेखि जेठ २३ गतेसम्म महोत्तरीमा ५७२ सवारी दुर्घटना भएको जानकारी दिनुभयो। ती दुर्घटनामा ३६ जनाको ज्यान गएको थियो।
उहाँले भन्नुभयो, “यस्ता दुखद घटनालाई न्यूनीकरण गर्न ट्राफिक नियमको जानकारी र पालनामा जोड दिनुपर्छ। सवारी चालकदेखि पैदल यात्रुसम्मलाई सचेत गराउँदै ‘सुरक्षित सडक, सुरक्षित समाज’ भन्ने नारालाई व्यवहारमा उतार्न साइकल र्यालीको आयोजना गरिएको हो।”
कार्यक्रमले नागरिकमा सडक सुरक्षाप्रति चेतना अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।



