बिरगंज ।
सवारी सुरक्षालाई प्राथमिकता दिँदै बिरगंजको मुटु मानिने घन्टाघर क्षेत्रमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनहितमा सञ्चालन गरिरहेको ट्राफिक सचेतना र चेकिङ अभियान अन्तर्गत उक्त क्षेत्रमा सक्रियता देखाइएको हो।
जिल्ला ट्राफिक प्रमुख लोक राज भट्टको समन्वयमा चेकिङ टोलीले नियम उल्लङ्घनमा संलग्न केही सवारी चालकहरूमाथि कारबाही गरेको जनाइएको छ। ट्राफिक प्रहरीका अनुसार कुल २० जना सवारी चालकहरूमाथि कारबाही गरिएको छ, जसमा ५ जनालाई अनलाइन मार्फत जरिवाना तिराइएको छ भने १५ जनालाई चिट काटिएको छ।
अभियानमा खटिएका असई देवश श्रेष्ठको नेतृत्वमा रहेको टोलीले मुख्यतः हेलमेट प्रयोग नगर्ने, सवारी अनुमतिपत्र नबोक्ने, र ट्राफिक नियम पालना नगर्ने व्यवहारमाथि ध्यान दिएको थियो।
ट्राफिक प्रमुख भट्टले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै नागरिकमा नियमपालनको भावना जगाउने उद्देश्य रहेको बताएका छन्। “सवारी सुरक्षामा हामी कुनै सम्झौता गर्दैनौं,” उनले भने, “नियम पालना गर्दा मात्र सुरक्षित यात्रा सुनिश्चित हुन्छ।”
ट्राफिक प्रहरीको यो पहलले बिरगंजबासीलाई ट्राफिक नियमबारे थप सजग बनाउने विश्वास गरिएको छ। आगामी दिनहरूमा समेत यस्ता सचेतनामूलक चेकिङलाई निरन्तरता दिइने ट्राफिक विभागले जनाएको छ।



