वीरगंज– वीरगंजमा केराको मूल्य आकाशिएको छ। केही दिनअगाडि मात्र प्रतिदर्जन ८० देखि १०० रुपैयाँमा पाइने केरा अहिले २४० रुपैयाँमा बिक्री भइरहेको छ। चाडपर्व नजिकिँदै गर्दा फलफूलमा मूल्यवृद्धि सामान्य मानिए पनि यति उच्च दरमा भएको वृद्धि उपभोक्ताका लागि असह्य बन्दै गएको छ।
स्थानीय उपभोक्ताहरू यसमा फलफूल व्यवसायीहरूको मिलोमतो (सेन्डिकेट) रहेको आशंका व्यक्त गरिरहेका छन्। खुद्रा बजारमा मनपरी मूल्य तोक्दा स्थायित्व रहँदैन भने आर्थिक भार भने उपभोक्तामाथि पर्न गएको छ।
दैनिक जिम सेन्टर जाने र शारीरिक तन्दुरुस्तीका लागि नियमित रूपमा केरा सेवन गर्दै आएका स्थानिय युवा राहुल गुप्ताले अहिलेको मूल्यले आफू अचम्मित भएको बताए। उनले भने, “यो केवल फलफूल व्यवसायीहरूको गल्ती होइन, स्थानीय सरकारको पनि लापरवाही छ। बजार अनुगमन नहुनु र नियमनको अभावले यस्तो अवस्था सिर्जना भएको हो।”
यसअघि पनि वीरगंजमा फलफूलको मूल्यमा यस्तै अस्वाभाविक वृद्धि भइसकेको छ। तर, सम्बन्धित निकायले कुनै ठोस कदम नचालेको उपभोक्ताहरूको गुनासो छ।



