बाँके । बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीतर्फ आकर्षित भइरहेका छन् ।
मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत ४ वर्षदेखि बेसार खेती गर्दै आइरहनुभएको छ। पहिले धान, मकै, गहुँ, र तोरीजस्ता परम्परागत बाली लगाउँदै आउनुभएका उहाँ वन्यजन्तुले बालीनाली भित्र्याउने बेलामा ठुलो क्षति पुर्याउने गरेकाले वैकल्पिक खेतीतर्फ लाग्नुपरेको बताउनुहुन्छ ।
“पहिले १ क्विन्टल अन्नबाली भित्र्याउन समेत गाह्रो हुन्थ्यो। हात्ती, गैँडाजस्ता वन्यजन्तुले खेतमा पस्दा अन्नबाली पूरै नष्ट गरिदिन्थे। तर, बेसार वन्यजन्तुले नखाने भएकाले अहिले म राम्रो आम्दानी गर्न थालेको छु,” उहाँले भन्नुभयो। उहाँका अनुसार हात्ती र गैँडाजस्ता जनावरले खेत कुल्चिए पनि बेसार नोक्सान हुँदैन।
मधुवनकै अर्का किसान सुनिता सुनार पनि अहिले बेसार खेतीमा रमाइरहनुभएको छ। “वन्यजन्तुको डर बिना खेती गर्न पाउँदा धेरै सजिलो भएको छ। बेसारबाट राम्रै आम्दानी गर्न सकिएको छ, र खेतीमा लाग्ने खर्च पनि कम छ,” चौधरीले भन्नुभयो। उहाँका अनुसार परम्परागत अन्नबालीले भन्दा बेसारले बढी आर्थिक फाइदा दिन थालेको छ।
यस परिवर्तनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको भूमिका महत्वपूर्ण रहेको छ। बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले किसानलाई बेसार खेतीतर्फ प्रोत्साहित गर्न विभिन्न सहयोग उपलब्ध गराइएको बताउनुभयो।
“किसानलाई बेसार खेतीका लागि बिउ बिजन, मेसिन, प्याकेजिङ उपकरण, र प्राविधिक सहयोग उपलब्ध गराएका छौँ। साथै, उत्पादित बेसारको बजारीकरणमा पनि हाम्रो कोषले भूमिका खेलिरहेको छ,” उहाँले भन्नुभयो।
बर्दियामा प्रत्येक वर्ष वन्यजन्तुबाट अन्नबालीमा ठूलो क्षति हुने गरेको छ। बेसार, कागती, र अन्य जडीबुटी खेतीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। यी बालीहरूले किसानको आर्थिक अवस्था सुधार्नुका साथै खेतीप्रति थप रुचि जगाएको छ।
बेसार खेतीले पारिवारिक आम्दानीमा ठूलो सुधार ल्याएको उहाँहरू बताउनुहुन्छ ।
“बेसार खेतीबाट प्रत्येक वर्ष १ देखि २ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। यो रकमले घर खर्चदेखि बालबालिकाको पढाइसम्म सहज बनाएको छ,” किसान चौधरीले अनुभव सुनाउनुभयो।
किसानहरूलाई प्राविधिक ज्ञान, आवश्यक उपकरण, र बजारसम्मको पहुँच उपलब्ध गराउन सकेमा वन्यजन्तुबाट हुने अन्नबाली क्षति न्यून गर्न सकिने मात्र नभई ग्रामीण क्षेत्रका कृषकहरूलाई आर्थिक रूपमा सुदृढ बनाउन सकिने विशेषज्ञहरूको भनाइ छ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यून गर्न र वातावरणमैत्री खेतीको प्रवर्द्धन गर्न, बेसार र कागती जस्ता बालीहरू भविष्यका लागि उत्कृष्ट समाधान बन्न सक्ने बर्दियाका किसान र कृषि विज्ञहरूले विश्वास छ।



