वीरगञ्ज — प्रणय साह
वीरगञ्जको मुख्य सडक विस्तारसँगै सडक आसपासका व्यवसाय विस्थापित हुन थालेका छन्। वर्षौंदेखि सञ्चालनमा रहेका होटल, पार्टी प्यालेस, कपडा तथा किराना पसलदेखि मिठाई, मोबाइल, बुटिक र ब्युटी पार्लरसम्मका व्यवसाय सडक विस्तारको प्रत्यक्ष मारमा परेका हुन्।
मुख्य सडकबाट विस्थापित व्यवसायीका लागि वैकल्पिक स्थान खोज्नु अर्को चुनौती बनेको छ। सडकछेउका व्यवसायीहरू भित्री बजार तथा गल्लीमा सर्न थालेपछि त्यहाँका सटरको भाडासमेत बढेको व्यवसायीहरूको भनाइ छ। उपयुक्त स्थान नपाउनु र पाएको स्थानमा चर्को भाडा तिर्नुपर्ने बाध्यताले व्यवसायीमाथि थप आर्थिक भार परेको छ।
नेपाल ब्युटीसियन संघकी केन्द्रीय सचिव राधा हमालका अनुसार सडक विस्तारको काम सुरु भएयता व्यवसायमा ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ। सडक विस्तारको प्रारम्भिक चरणमा विद्युत् आपूर्तिमा समेत समस्या हुँदा व्यवसाय सञ्चालन प्रभावित भएको उनले बताइन्।
“मुख्य सडकबाट विस्थापित भएका व्यवसायीहरू भित्री बजारतर्फ सर्न थालेपछि त्यहाँका सटरको भाडासमेत बढेको छ,” हमालले भनिन्, “उपयुक्त ठाउँ पाउनै कठिन छ। पाए पनि महँगो भाडाका कारण व्यवसाय सञ्चालन गर्न थप लगानी गर्नुपर्ने अवस्था छ।”
व्यवसायी गोपाल केडियाले सडक विस्तारका कारण व्यापार–व्यवसाय ठप्पजस्तै भएको बताए। उनका अनुसार व्यवसायीले एउटै समस्याको दोहोरो असर खेपिरहेका छन्।
“एकातर्फ सडक विस्तारका कारण नियमित कारोबार प्रभावित भएको छ,” उनले भने, “अर्कोतर्फ व्यवसाय सार्नुपर्ने बाध्यताले नयाँ ठाउँ, सटर र पूर्वाधारमा थप लगानी गर्नुपरेको छ।”
होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय सदस्य हिरा श्रेष्ठका अनुसार सडक विस्तारको प्रत्यक्ष असर होटल तथा पार्टी प्यालेसमा समेत परेको छ। सडकछेउका संरचना हटाउनुपर्ने भएपछि व्यवसायका सामग्री अन्यत्र सार्न कठिनाइ भएको उनले बताए।
“व्यवसाय सञ्चालनका लागि उपयुक्त ठाउँको अभाव छ। काम नभए पनि केही कर्मचारीलाई तलब दिनुपर्ने अवस्था छ,” श्रेष्ठले भने, “सडकमा धुलो–धुवाँ बढेको छ, आवागमन प्रभावित भएको छ। पुराना ग्राहकलाई समेत पहिलेको व्यवसायिक स्थान पहिचान गर्न कठिन भइरहेको छ।”
व्यवसायीका अनुसार सडक विस्तारका कारण ग्राहकको आवागमनमा आएको कमी, पार्किङको अभाव, व्यवसाय स्थानान्तरणमा लाग्ने अतिरिक्त खर्च र सटर भाडा वृद्धिको असर सबैभन्दा बढी साना तथा मझौला व्यवसायमा परेको छ।
महानगरको कर छुट र भवन उपलब्ध गराउने तयारी
व्यवसायीको समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकाले वैकल्पिक व्यवस्थापनको तयारी थालेको जनाएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले सडक व्यवस्थापनसँगै प्रभावित व्यवसायीका लागि बजार व्यवस्थापनको काम अघि बढाइएको बताए।
उनका अनुसार सडक विस्तार क्षेत्रमा परेका व्यवसायीलाई चालु आर्थिक वर्षको व्यवसाय करमा ५० प्रतिशत छुट दिने तयारी गरिएको छ। महानगरपालिकाको स्वामित्वमा रहेका भवनसमेत सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरिने उनले बताए।
दसैँसम्म सडक विस्तारको काम अघि बढाउने लक्ष्य
सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको मुख्य सडक विस्तारको काम निर्धारित समयभन्दा ढिला भएको स्वीकार गरेको छ। केही ठूला घर तथा संरचनाका कारण काम प्रभावित भएको कार्यालयको भनाइ छ।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसादले सडक विस्तारको काम यसअघि नै सम्पन्न भइसक्नुपर्ने भए पनि संरचना हटाउनुपर्ने प्रक्रियाका कारण ढिलाइ भएको बताए।
“हामीले पटक–पटक सूचना जारी गरेर समयसमेत दिएका थियौँ,” उनले भने, “आगामी दसैँसम्म सडक विस्तारको काम राम्रो अवस्थामा पुर्याउने गरी काम अघि बढाइएको छ।”
उनका अनुसार सडक विस्तारका क्रममा संरचना भत्काउँदा व्यापारी तथा व्यवसायीलाई थप समस्या पर्न सक्ने अवस्था छ।
सडक विस्तारले वीरगञ्जको दीर्घकालीन यातायात तथा बजार व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको भए पनि तत्कालका लागि व्यवसायीको विस्थापन, वैकल्पिक स्थानको अभाव र चर्को सटर भाडा मुख्य चुनौती बनेका छन्। प्रभावित व्यवसायीको पुनःस्थापना र व्यवसाय सञ्चालनका लागि महानगरपालिका तथा सम्बन्धित निकायले प्रभावकारी विकल्प दिन नसके सडक विस्तारको आर्थिक भार साना तथा मझौला व्यवसायीले लामो समयसम्म बेहोर्नुपर्ने देखिन्छ।


