वीरगन्ज,। वीरगन्ज महानगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा शहरलाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यले वृहत् वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ।यसैक्रममा शनिबार बिहान महानगरपालिकाको आयोजनामा वीरगन्जको नयाँ बसपार्क परिसरमा वृहत् वृक्षारोपण गरिएको हो।
कार्यक्रममा सहभागी वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले बढ्दो शहरीकरणसँगै वातावरणमा परेको असर न्यूनीकरण गर्न वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको बताए।
उनले वीरगन्जमा बढ्दो गर्मी, वायु प्रदूषण तथा वातावरणीय चुनौतीलाई न्यूनीकरण गर्न महानगरपालिकाले हरियाली विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरे। “बिरुवा रोपेर मात्रै हाम्रो जिम्मेवारी पूरा हुँदैन, रोपिएका बिरुवाको संरक्षण गर्दै हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ,” उनले भने।
कार्यवाहक मेयर आलमले वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन महानगरवासी, महानगर प्रहरी, कर्मचारी, स्थानीय संघसंस्था तथा नागरिक समाज सबैको सहकार्य आवश्यक रहेको बताए। उनले सार्वजनिक स्थान, सडक किनार, बसपार्क तथा खुला क्षेत्रमा रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरे।
“हरियाली बढेपछि मात्रै शहर सुन्दर देखिने होइन, यसले वातावरणीय सन्तुलन कायम राख्नुका साथै नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ,” आलमले भने। वीरगन्जलाई हराभरा, स्वच्छ, सुन्दर तथा वातावरणमैत्री महानगरका रूपमा विकास गर्ने लक्ष्यसहित वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महानगरपालिकाका कर्मचारी, महानगर प्रहरी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।


