वीरगन्ज — नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि आक्रमणको घटनामा अनुसन्धानका क्रममा वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ परेपछि महानगरका ३२ वटै वडाध्यक्ष आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बुधबारदेखि सबै वडा कार्यालयको सेवा बन्द गरेका छन्।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा। प्रमोद राममाथि कुटपिट गरेको थियो। घटनापछि चिकित्सकमाथि भएको आक्रमणको विरोधमा वीरगन्जसहित देशभरका सरकारी अस्पतालमा चिकित्सकहरूले आन्दोलन गर्दै उपचार सेवा प्रभावित पारेका छन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मंगलबार वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। उनको रिहाइको माग गर्दै महानगरका सबै वडाध्यक्षहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेका थिए। तर रिहा नभएपछि उनीहरूले बुधबारदेखि वडा कार्यालयको कामकाज बन्द गरेर आन्दोलन थालेका हुन्।
वडा कार्यालय बन्द भएपछि सिफारिस, दर्ता तथा अन्य दैनिक प्रशासनिक सेवा प्रभावित भएका छन्। त्यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको छ।
आन्दोलनरत वडाध्यक्षहरूले आफ्नै वडाका नागरिकको हकहितका पक्षमा आवाज उठाएकै आधारमा चतुर्वेदीलाई पक्राउ गरिएको भन्दै त्यसलाई कानुनी राज्यको मर्मविपरीत भएको बताएका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमार्फत वडाध्यक्षजस्तो जनप्रतिनिधिलाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन्।
विज्ञप्तिमा चतुर्वेदीलाई तत्काल रिहा नगरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।



