वीरगन्ज — स्वास्थ्य कार्यालय पर्साले जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न पोखरिया नगरपालिका र बिन्दवासिनी गाउँपालिकामा घरदैलो अनुगमन गरेको छ।
नियमित खोप कार्यक्रमको प्रभावकारिता, अभिलेख व्यवस्थापन र समुदायमा खोपप्रतिको सचेतनाको अवस्था मूल्यांकन गर्ने उद्देश्यले गरिएको अनुगमनमा अधिकांश बालबालिकाले निर्धारित समयमै सबै नियमित खोप पाएको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले नियमित खोप कार्यक्रम समग्रमा सन्तोषजनक रहेको बताए। उनका अनुसार अभिभावकमा बालबालिकाको स्वास्थ्य र नियमित खोपप्रति सचेतना बढेको देखिएको छ। अनुगमनका क्रममा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधारका लागि सम्बन्धित स्वास्थ्य संस्थालाई सुझावसमेत दिइएको उनले जानकारी दिए।
अनुगमन टोलीले खोप केन्द्रको निरीक्षणका साथै घरदैलोमै पुगेर अभिभावकसँग छलफल गरेको थियो। टोलीले खोपको महत्व, छुटेका बालबालिकाको पहिचान, समयमै खोप लगाउने व्यवस्था तथा नियमित खोपको निरन्तरताबारे जानकारी दिएको थियो।
जनस्वास्थ्य अधिकृत शबनम कार्कीले अधिकांश बालबालिकाले नियमित खोप पूरा गरे पनि केही परिवारमा खोप कार्ड हराएको वा सुरक्षित रूपमा नराखिएको अवस्था भेटिएको बताइन्। खोप कार्ड बालबालिकाको स्वास्थ्य अभिलेखको महत्वपूर्ण कागजात भएकाले सुरक्षित राख्न र हराएमा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी अभिलेख अद्यावधिक गर्न उनले अभिभावकलाई आग्रह गरिन्।
उनले घरदैलो अनुगमनले छुटेका बालबालिकाको पहिचान, खोप सेवाको गुणस्तर मूल्यांकन र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।



