वीरगञ्ज महानगरपालिका वडा नं–८ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका हुन्।
महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो। सो टेण्डर एसडी कन्स्ट्रक्सनले प्राप्त गरी करिब ७९ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरेको हो।
दुई तले पक्की संरचनामा निर्माण गरिएको उक्त भवन सञ्चालनमा आएसँगै वडा कार्यालयले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ।
यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ सहज, छिटो र प्रभावकारी हुने बताए। उनले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।



